काठमाडौं। इन्धन खपत घटाउने उद्देश्यसहित सरकारले सवारीसाधनमा ‘जोरबिजोर’ प्रणाली लागू गर्ने विषयमा तयारी अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सवारीसाधनलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल सुरु गरेको हो। यसैगरी यातायात व्यवस्था विभागले पनि यातायात व्यवसायीसँग परामर्श अघि बढाएको छ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदै जाँदा यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ अमेरिकी डलरसम्म पुगेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले गत साता पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँले वृद्धि भएको थियो। यद्यपि नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोष प्रयोग गर्दै पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मटितेलमा १० रुपैयाँ मात्रै बढाएको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार जोरबिजोर प्रणालीबारे छलफल भए पनि कार्यान्वयन मिति भने अझै तय भइसकेको छैन। इन्धन खपत घटाउन विद्युतीय सवारी प्रयोग बढाउन पनि उनले आग्रह गरेका छन्।
त्यस्तै, विभागका महानिर्देशक राजीव पोखरेलले निजी क्षेत्रका व्यवसायीसँग छलफल गरी जोरबिजोर प्रणाली लागू गर्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिएका छन्।

