काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्वभर छरिएका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (NRN) का लागि छुट्टै अध्यागमन डेस्क सञ्चालनमा ल्याइएको छ।
विमानस्थल अध्यागमन कार्यालयले आगमन र प्रस्थान दुवै कक्षमा विशेष डेस्क स्थापना गरी सेवा सुरु गरेको हो। अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार यसअघि एनआरएनए तथा भिसा-फ्री सुविधा भएका मुलुकका नागरिकका लागि मात्र छुट्टै डेस्कको व्यवस्था गरिएको थियो।
अब नेपाली मूलका विदेशी नागरिकलाई पनि सोही सुविधा विस्तार गरिएको छ। यस व्यवस्थाबाट अध्यागमन प्रक्रिया छिटो, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ मजबुत बनाउने साथै पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।
अध्यागमन विभागको चैत ८ गतेको निर्णयअनुसार आगमन र प्रस्थान दुवै तर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

