काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। उनी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी भण्डारी सोमबार बसेको सभाको बैठकबाट उपाध्यक्षमा चयन भएकी हुन्। उक्त पदमा एक मात्र उम्मेदवारी परेपछि अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई निर्विरोध विजयी भएको घोषणा गरेका थिए।
भण्डारी गत माघ ११ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनले करिब छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। साथै, गेटा मेडिकल कलेज सञ्चालनको पहल र मुक्त कमलरीको अवस्था सुधारमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय भण्डारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मार्फत विद्यार्थी आन्दोलनमा योगदान दिएकी व्यक्ती हुन्।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)हुँदै हाल एमाले कृयाशिल भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं र ११औं महाधिवेशनबाट निर्वाचित भई पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला संयोजकको जिम्मेवारी समेत सम्हालिसकेकी छन्।

