म्याग्दी। चालु वसन्त यामसँगै धौलागिरि र अन्नपूर्ण हिमालमा आरोहीको चहलपहल बढ्न थालेको छ। हालसम्म यी दुई हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन्।
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा अवस्थित ८,१६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्न दुई समूहका आठ महिलासहित १७ जना तथा अन्नपूर्ण गाउँपालिका–४ स्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
आरोहण अनुमतिबाट उल्लेख्य आम्दानी पनि भएको छ।
धौलागिरिबाट रु ७५ लाख ६४ हजार ६५० र अन्नपूर्णबाट रु १ करोड २० लाख ४९ हजार १७५ रोयल्टी संकलन भएको विभागकी शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिएकी छन्।
उनका अनुसार, हालसम्म अन्नपूर्ण र धौलागिरिसहित १२ हिमाल आरोहणका लागि २४ समूहका १७० जनाले अनुमति लिँदा कुल रु १० करोड ८७ लाख ३० हजार रोयल्टी संकलन भइसकेको छ। पछिल्ला दिनमा दैनिकजसो आरोहण अनुमति लिनेको संख्या बढ्दै गएको छ।
गत शरदयाममा धौलागिरि आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्णमा कुनै पनि अनुमति जारी भएको थिएन। यस्तै, गत वर्षको वसन्तयाममा धौलागिरि चढ्न १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए।
हाल दुवै हिमालका आधार शिविरमा आरोही टोली पुगिसकेको छ र आरोहणको तयारी तीव्र छ।

