मोरङ — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी नवीन रिजाल लाई भारी मतान्तरले पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन्।
विराटनगरमा आइतबार राति सम्पन्न महासंघको आठौँ प्रदेशसभाबाट भएको निर्वाचनमा राउतले १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत मात्रै पाए। यससँगै राउतले ८४ मतान्तरको स्पष्ट जित हात पारे।
मत परिणामअनुसार वस्तुगततर्फ राउतले ११ मत र रिजालले ६ मत प्राप्त गरे। जिल्ला–नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजाल १३ मतमा सीमित भए। एसोसिएटतर्फ भने राउतको बलियो पकड देखियो, जहाँ उनले १०७ मत पाउँदा रिजालले ३९ मत मात्रै पाए।
शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहेका राउत महासंघ कोशीका संस्थापक सदस्य हुन्। उनको नेतृत्वकालमा प्रदेश कार्यालय भवन निर्माण कार्य अघि बढिरहेको छ। यसअघि तीन वर्षअघि झापामा भएको निर्वाचनमा उनी निर्विरोध अध्यक्ष बनेका थिए।
यता, महासंघका केन्द्रीय सदस्य रिजालले पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए।
नयाँ कार्यसमितिमा अध्यक्षबाहेक चार पदाधिकारी भने निर्विरोध चयन भएका छन्। जिल्ला–नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। यी सबै पदाधिकारी राउत प्यानलकै सदस्य हुन्।
यसैगरी, एसोसिएट्स सदस्यतर्फ देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्।
अन्य सदस्यहरूमा जिल्ला–नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना (राजीव), जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी विजयी भएका छन्। वस्तुगततर्फ सुवास आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन्।

