तोमनाथ ऊप्रेती
उपसचिव, नेपाल सरकार
करुणा सबै प्राणीप्रति दया, सहानुभूति र सहयोग गर्ने भावनात्मक गुण हो। यो मानव हृदयको सबैभन्दा पवित्र र शक्तिशाली भावना हो, जसले मानिसलाई संवेदनशील, उत्तरदायी र मानवीय बनाउँछ। करुणाले हामीलाई अरूको पीडा महसुस गर्न, दुःखमा साथ दिन र समाधान खोज्न प्रेरणा दिन्छ। यो व्यक्तिगत भावना मात्र नभई सामाजिक आचरणको आधार हो, जसले सह-अस्तित्व, समानता र शान्तिपूर्ण जीवनको मार्ग खोल्छ। करुणाले घृणा, हिंसा र स्वार्थलाई हटाएर प्रेम, सेवा र समर्पणको भावना बढाउँछ। यसले जीवनलाई गहिरो अर्थ दिन्छ र सबै प्राणीप्रति प्रेमभाव उत्पन्न गर्छ।
मानिसले भौतिक आवश्यकतामा सीमित भएर जीवन व्यतित गरे पर्याप्त हुँदैन भावनात्मक संवेदनशीलता र अरूप्रति माया रहनु पनि अत्यावश्यक छ। सहानुभूति अरूको पीडा बुझ्न, अनुभवमा सहभागी हुन र उचित प्रतिक्रिया दिन उत्प्रेरित गर्छ। करुणा त्यसको विस्तार हो—सिर्फ बुझ्ने मात्र होइन, पीडितको सहयोग गर्न सक्रिय भूमिका लिने भाव।
मानव समाजमा प्रेम, सहानुभूति र करुणाको अभावले द्वन्द्व, असमानता र अलगाव जन्माउँछ। जब हामी अरूको पीडा र आवश्यकता बुझ्छौं, तब मात्र व्यक्तिगत जीवन सन्तुलित र सामाजिक जीवन स्वस्थ हुन्छ। आधुनिक युगमा जहाँ प्रतियोगिता, भौतिकवाद र स्वार्थले जीवनलाई चुनौती दिइरहेको छ, सहानुभूति र करुणा नै स्थायी आधारका रूपमा मानवता बचाउने शक्ति हुन्।
सामाजिक जीवनको स्थायित्व र शान्ति कायम राख्न सहानुभूति, करुणा र प्रेम अनिवार्य मूल्यहरू हुन्। सहानुभूति भनेको अरूको पीडा महसुस गर्ने शक्ति हो। जब हामी अरूको स्थानमा आफूलाई राखेर सोच्न सक्छौँ, तब विभाजन र शत्रुताको भावनामा कमी आउँछ। सहानुभूतिले मात्र अन्याय, बहिष्कार वा द्वन्द्वलाई रोक्ने क्षमता राख्छ, किनकि यसले मानवलाई एक–अर्काको भावनासँग गाँसिदिन्छ।
करुणा अरूको दुःख हटाउन सक्रिय प्रयास गर्ने गुण हो। सहानुभूतिबाट जन्मिएको करुणा नै समाजमा सेवा, सहयोग र समर्पणको मार्ग खोल्छ। कुनै विपत्ति, असमानता वा पीडाले ग्रसित समुदायप्रति देखाइएको करुणा मेलमिलाप र पुनर्निर्माणको आधारशिला बन्न सक्छ। करुणाले व्यक्तिगत लाभभन्दा सामूहिक कल्याणलाई प्राथमिकता दिन सिकाउँछ, जसले सामाजिक अन्यायलाई घटाएर सबैलाई समान अवसर दिन सहयोग पुर्याउँछ।
आजको नेपाली समाजमा बढ्दो राजनीतिक ध्रुवीकरण, वर्गीय विभाजन, जातीय असहिष्णुता, धार्मिक कडपना, सामाजिक असमानता र वैमनस्यताले मेलमिलापको संस्कृति कमजोर हुँदै गएको देखिन्छ। यस्तो अवस्थामा करुणा एक साझा भावनात्मक सेतु बन्न सक्छ, जसले द्वन्द्वलाई संवादमा बदल्न सक्दछ। करुणाले मानिसलाई केवल आफ्नै स्वार्थ होइन, सम्पूर्ण समाजको भलाइ सोच्न प्रेरित गर्छ।हृदयबाट उब्जिएको करुणा निष्कलंक हुन्छ— यसमा कुनै शर्त हुँदैन, अपेक्षा हुँदैन। यस्तो करुणा नै मेलमिलापको जरो हो, जसले द्वेष, घृणा र हिंसालाई परास्त गर्न सक्दछ। विद्यालय, मन्दिर, मस्जिद, चर्च वा गुम्बामा सिकाइने नैतिक शिक्षाले पनि करुणालाई जीवनको मूल मान्यता बनाउनुपर्छ।
करुणा बिना मानवता अधुरो रहन्छ। समाज स्वार्थी, कठोर र अन्यायी बन्छ। करुणा नै नैतिकता, मानव अधिकार र दायित्वको आधार हो। यो भावना धर्म, दर्शन र सभ्यताको साझा सम्पत्ति हो। बुद्ध धर्ममा करुणा मुक्ति मार्गको मूल हो भने हिन्दू, इस्लाम, इसाई लगायतका धर्महरूमा पनि करुणालाई सर्वोच्च मानवीय गुण मानिएको छ। करुणाले सामाजिक समरसता कायम राख्न सहयोग गर्छ, जहाँ सबैले एकअर्काको अस्तित्व स्वीकार्छन्। करुणावान व्यक्ति मात्र साँचो अर्थमा मानव हुन्छ। यसैले करुणा जीवनको मेरुदण्ड हो, जसले हामीलाई असल मानव बन्न सिकाउँछ र संसारलाई सुन्दर, शान्त र सजीव बनाउँछ।त्यसैले, करुणा सामूहिक अस्तित्वलाई टिकाइराख्ने आधारशिला हो। जब हामी करुणालाई आत्मसात् गर्छौं, तब हाम्रो जीवन मानवीयताको उज्यालोले भरिन्छ, समाज संवेदनशील बन्छ, र संसार शान्तिको बगैँचामा परिणत हुन्छ। यही करुणा नै मानवताको साँचो धरोहर र उज्ज्वल भविष्यको ग्यारेन्टी हो।

