जनकपुरधाम— मधेस प्रदेशमा आयोजित फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सर्लाही जिल्लाको लालबन्दी नपा वडा नं. ६ निवासी २० वर्षीय सबिन वाईवा खुला तौल समूहमा प्रथम हुन सफल भएका छन्। २०८३ साल जेठ ५ गते जनकपुरधाममा सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेका हुन्।
१४ वर्षको उमेरदेखि कराते खेलमा सक्रिय सबिनले निरन्तर मेहनत, अनुशासन र संघर्षका माध्यमबाट खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। हालसम्म उनले विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताबाट ७ वटा गोल्डकप जित्न सफल भएका छन्। खेलप्रतिको लगाव र निरन्तर अभ्यासका कारण उनी युवा पुस्तामाझ प्रेरणाका रूपमा चिनिन थालेका छन्।
सबिनका बाबुआमा दुवै जना पूर्व माओवादी जनमुक्ति सेना आबद्ध भएर देश र जनताको पक्षमा सक्रिय रूपमा काम गरेका व्यक्तिहरू हुन्। सामाजिक तथा राजनीतिक जिम्मेवारीका कारण उनीहरूले आफ्ना छोराछोरीलाई पर्याप्त समय दिन नसके पनि संघर्ष र अनुशासनको संस्कार भने राम्रोसँग दिएका थिए।
सबिनकी आमा अम्बिका वाईवा हाल नेपाली कम्युनिस्ट पार्टी को केन्द्रीय समितिको सदस्य रहेकी छन्। छोराले हासिल गरेको सफलताले परिवारमा खुसीको वातावरण छाएको छ। बाबुआमाले सबिनको मेहनत, लगनशीलता र खेलप्रतिको समर्पणले आफूहरू गर्वित भएको बताएका छन्।
स्थानीयवासी तथा खेलप्रेमीहरूले पनि सबिन वाईवालाई बधाई दिँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

