काठमाडौं — लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध लागेको बालश्रम सम्बन्धी आरोपको अनुसन्धान हिरासतबाहिरै राखेर गर्ने फैसला भएको छ।
जिल्ला अदालत काठमाडौंले शर्मालाई हिरासतमा नराखी थप अनुसन्धान अघि बढाउन आदेश दिएको हो। अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो।
शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गरेको आरोप थियो। तर, यसअघि नै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनीविरुद्ध मुद्दा नचलाउने राय तयार गरेको थियो। उक्त फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालय पुगेको र त्यहाँबाट पनि मुद्दा नचलाउने निर्णय भइसकेको जनाइएको छ।
अदालतले पनि महान्यायाधिवक्ताको कार्यालयबाट भइसकेको निर्णयलाई आधार मान्दै शर्मालाई हिरासतमा राखिराख्नु पर्ने अवस्था नरहेको ठहर गरेको छ।
आदेशमा उल्लेख भएअनुसार, एउटै विषयमा पुनः हिरासतमा राखेर मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएकाले उनलाई तत्काल हिरासतबाट मुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाउन भनिएको छ।

