काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। पार्टीभित्र लामो छलफल र सहमतिको प्रयासपछि आङ्देम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेतृत्वमा चयन भएका हुन्।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए। संसदीय दलको नेताको चयनसँगै संसद्मा कांग्रेसको नेतृत्व अब आङ्देम्बेको काँधमा आएको छ।
यसअघि सोमबार नै पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो। उक्त प्रस्तावमा शीर्ष तहबाट व्यापक समर्थन जुटेपछि संसदीय दलको बैठकले त्यसलाई औपचारिक अनुमोदन गरेको हो।
संसदीय दलको नेतामा तीन जना नेताले आकांक्षा देखाएपछि सहमति जुटाउन पार्टीले विशेष पहल गरेको थियो। सो प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा दुवै महामन्त्री सहभागी रहेको सहमति समिति गठन गरिएको थियो। समितिले विभिन्न पक्षसँग छलफल गर्दै साझा समझदारी निर्माण गरेपछि अन्ततः आङ्देम्बेको नाममा सर्वसम्मति जुटेको हो।
विशेष महत्वको कुरा के हो भने, वि.सं. २०६४ पछि नेपाली कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको छ। यसलाई पार्टीभित्रको आन्तरिक एकता, सहमतिको राजनीति र नेतृत्व चयन प्रक्रियामा परिपक्वताको संकेतका रूपमा हेरिएको छ।
आङ्देम्बेको चयनसँगै कांग्रेसले संसद्भित्र आफ्नो रणनीतिक भूमिका, विपक्ष वा सत्तासँगको संवाद र आगामी राजनीतिक एजेन्डालाई कसरी अघि बढाउँछ भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चासो बढेको छ।
यससँगै नेपाली काँग्रेसले संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा डा निश्कल राईलाई चयन गरेको छ । नेपाली कांग्रेसले युवा, अनुभवी सबैलाई उचित रुपमा समेटेको भन्दै सार्वजनिक रुपमा प्रशंसा शुरु भएको छ ।

