काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथ कार्यक्रम सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने र सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंक केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ।
यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ट सांसद केसीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
शपथ समारोहमा ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिने जानकारी संसद सचिवालयलाई जानकारी सहित अनुरोध गरेकाछन्।
नेपालको संविधानअनुसार तोकिएको व्यवस्था बमोजिम शपथ कार्यक्रम सञ्चालन हुनेछ। सचिवालयले सांसदहरूलाई आवश्यक कागजातसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। साथै, औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट विभिन्न दलका प्रतिनिधिहरू निर्वाचित भएका छन्, जसअनुसार प्रतिनिधिसभामा नयाँ शक्ति सन्तुलन देखा परेको छ।

