काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णयसँगै कार्ययोजना अघि सारेको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यस क्रममा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइने र १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गरिनेछ।
वैशाख १ देखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडामा सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गरिनेछ। सदस्यहरूले आफू सदस्य भएको वडाबाटै सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यतालिकाअनुसार, जिल्लास्तरमा सदस्यतासम्बन्धी उजुरीहरूको छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाइनेछ भने केन्द्रले असार १५ गतेभित्र अन्तिम टुङ्गो लगाउनेछ।
अद्यावधिक सदस्यहरूको नामावली असार मसान्तसम्म केन्द्रीय निर्वाचन समितिमा बुझाइनेछ।
अधिवेशन प्रक्रिया भदौदेखि सुरु हुने तय भएको छ। भदौ २ गते वडा अधिवेशन, ७ गते गाउँ/नगर अधिवेशन, १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन हुनेछ। त्यसपछि असोज २ र ३ गते जिल्ला अधिवेशन सम्पन्न गरी असोज १६–१९ गते केन्द्रीय महाधिवेशन गरिने उल्लेख छ।
पार्टीले महाधिवेशनसँग सम्बन्धित कार्यक्रमसहित बुधबार कुल १६ निर्णय गरेको जनाएको छ।

