काठमाडौं । देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान गरिएको छ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। तर, सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षा, चट्याङ र हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

