काठमाडौं । रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको छ। दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यसूची रहेको छ।
बैठकमा संसदीय दलको नेता चयनसहित विभिन्न समसामयिक एजेण्डामा छलफल हुने बताइएको छ। पार्टीभित्र यसअघि भएको सहमतिअनुसार रवि लामिछाने सभापति रहने र बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति रहेको जनाइएको छ।
रास्वपाका नेताहरूका अनुसार सोही सहमति बमोजिम आजको संसदीय दल बैठकले बालेनलाई दलको नेता चयन गर्ने तयारी गरेको छ।
यसैबीच, नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज सिंहदरबारस्थित संसद् भवनमा हुँदैछ। बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहेकाले त्यसअघि नै उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयमा पठाइनेछ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएको रास्वपाले संविधानको धारा ७६(१) अनुसार सरकार गठनको तयारी अघि बढाएको छ।

