काठमाडौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री सीता वादीले पद र जिम्मेवारी सम्हालेको करिब पाँच सातापछि सुशासन, पारदर्शिता र कानुनी शासनप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै १० बुँदे घोषणा सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार सार्वजनिक अपिल गर्दै मन्त्री वादीले आफूले पदमा रहँदा नातावाद, भनसुन, भ्रष्टाचार र शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारेकी हुन्।
‘प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू’ भन्दै सुरु गरिएको सन्देशमा मन्त्री वादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको उल्लेख गर्दै जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा विस्तृत जानकारी दिने जनाएकी छन्। तर त्यसअघि आफूले के नगर्ने भन्ने विषय स्पष्ट पार्न चाहेको उनले बताएकी छन्।
मन्त्री वादीले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम नगर्ने उद्घोष गरेकी छन्। साथै कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण नगर्ने स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
उनले लागूऔषध कारोबार, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको संरक्षण नगर्ने चेतावनी दिँदै यस्ता घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइनुपर्नेमा जोड दिएकी छन्। त्यस्तै कमिसन, घुस तथा भ्रष्टाचारजन्य कुनै पनि गतिविधिमा आफू संलग्न नहुने मात्र होइन, त्यस्तो कार्य भएको जानकारी पाए त्यसविरुद्ध सशक्त रूपमा उभिने घोषणा पनि गरेकी छन्।
मन्त्री वादीले विशेष रूपमा महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र विभेदविरुद्ध कठोर रूपमा उभिने प्रतिबद्धता जनाएकी छन्। यस्ता संवेदनशील मुद्दामा कुनै सम्झौता नहुने उनको स्पष्ट भनाइ छ।
सार्वजनिक स्रोत–साधनको प्रयोगमा पनि उनले राज्यका कुनै स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन छिटिछरितो खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार नगर्ने स्पष्ट पारेकी छन्।
त्यसैगरी मन्त्री वादीले मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने घोषणा गर्दै क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिने बताएकी छन्। साथै ‘भोट दिएको हुँ’ भन्ने आधारमा कुनै दबाब वा प्रभावमा नपर्ने, बरु सबै नागरिकलाई समान रूपमा सेवा दिने र विशेषगरी कमजोर तथा सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राख्ने नीति लिने उल्लेख गरेकी छन्।
नागरिकका दुःख, आपत् र अप्ठ्यारोमा भने सम्भव भएसम्म आफू स्वयं नागरिकसँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री वादीले सुशासन केवल सरकारी नीतिले मात्र सम्भव नहुने, नागरिकको सचेत र सामूहिक प्रयास पनि उत्तिकै आवश्यक हुने धारणा राखेकी छन्।
सन्देशको अन्त्यमा उनले नागरिकलाई ‘सम्बन्ध होइन, नियमको सम्मान गरौँ; दबाब होइन, न्यायको साथ दिऔँ; व्यक्तिगत स्वार्थ होइन, समाजको हितलाई प्राथमिकता दिऔँ’ भन्ने आह्वान गरेकी छन् ।
आज मंगलबार बिहान प्रेषित उनको पोस्ट जस्ताको त्यस्तै—
प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू,
जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको छ। यस अवधिमा म आफ्ना केही विचार र प्रतिबद्धता यहाँहरू सामु राख्न चाहन्छु। जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा अद्यावधिक गर्नेछु। अहिले भने मैले नगर्ने केही विषयहरू स्पष्ट गर्न चाहन्छु।
पद र जिम्मेवारीमा म निम्न कामहरू गर्दिनँः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ।
२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ।
३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने/गराउने काममा संलग्न हुने छैन। त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु। यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन।
७. राज्यका कुनै पनि स्रोत–साधनको दुरुपयोग गर्दिनँ।
८. सरकारी सेवा छिटो गराइदिन shortcut खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन।
१०. “भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन; सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने सम्भव भएसम्म म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु।
मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।
हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।
आउनुहोस्,
सम्बन्ध होइन—नियमको सम्मान गरौं।
दबाब होइन—न्यायको साथ दिऔं।
व्यक्तिगत स्वार्थ होइन—समाजको हितलाई प्राथमिकता दिऔं।

