काठमाडौँ — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रमार्फत पार्टीको नेतृत्व र कार्यशैली अस्वीकार गरेको अवस्थामा कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी हुन्छ भन्ने प्रश्न उठाएका छन्।
पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै लेखेका छन् कि यति ठूलो नैतिक पराजय पछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग बाँकी छैन।
पाण्डेका अनुसार, “नेकपा (एमाले)को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने वेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।”
उनले थप लेखेका छन्, “मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला, तर अन्तर्घातले ५–१० हजार मत तल/माथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो।
यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।”

