काठमाडौँ । साहित्य सदन नेपालका संस्थापक सचिव एवं पूर्व अध्यक्ष, हालका संरक्षक तथा समाजसेवी अमिर थापा (बुद्धिबहादुर थापा) को निधन भएको छ । ९१ वर्षको उमेरमा आइतबार बिहान थापाको निधन भएको साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलले बताएका हुन्।
परिवारका अनुसार थापाको आइतबार बिहान करिब ४ बजे काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा निधन भएको हो।
उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिएको छ ।
साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय थापा साहित्य सदन नेपालका संस्थापक सचिव, पूर्व अध्यक्ष तथा पछिल्लो समय संरक्षकको जिम्मेवारीमा थिए। उनको निधनले साहित्यिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्य सदन नेपालका अध्यक्ष साहित्यकार तथा समालोचक प्राडा हेमनाथ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
स्वर्गीय थापाप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
स्वर्गीय थापाका श्रीमती शोभा थापा तथा छोराछोरीहरू सुशील, सुनील, उषा, सङ्गीता र रूपा रहेका छन्।

