काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारीका विषयमा प्रदेश तथा जिल्ला सभापतिहरूलाई जानकारी गराएको हो ।
स्वीकृत कार्यतालिकाअनुसार आगामी जेठ १५ गतेभित्र ७७ जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गरिसक्ने कार्यतालिका छ। त्यस्तै, जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनसम्बन्धी प्रतिवेदन सङ्कलन गरिने र जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गरिने जनाइएको छ ।
यसैगरी, जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ । आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने तथा विद्युतीय मतदान प्रणालीबारे छलफल गरिने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तय गरेको छ ।

