काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते दिउँसो २ बजे गराउने तयारी गरेको जनाएको छ।
बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै सचिवालयले शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम तथा संसदीय दलका कार्यालय व्यवस्थापनका विषयमा तयारी अघि बढाएको हो।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथ ग्रहण अघि ज्येष्ठ सदस्यको पहिचान गरिनेछ। सो ज्येष्ठ सदस्यले पहिलो चरणमा नेपालका राष्ट्रपति समक्ष शपथ लिनेछन् र त्यसपछि अन्य सदस्यहरूलाई शपथ गराउनेछन्।
साथै, नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउने विषयमा दलहरूसँग सुझाव समेत संकलन गरिएको छ। सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित हुनुपर्ने सुझावहरू प्राप्त भएको प्रवक्ता गिरीले बताए।
त्यसैगरी संसदीय दलका कार्यालय व्यवस्थापनमा केही चुनौती भए पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ।
छलफलपछि दलका प्रतिनिधिहरूलाई संसदीय दलका कार्यालयहरू समेत अवलोकन गराइएको थियो। प्रवक्ता गिरीका अनुसार सदस्य सङ्ख्याका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपाको दलको कार्यालयमा संसदीय दलको कार्यालयको व्यवस्थापन गरिएको छ।

