काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नितेश पौडेलले बुद्धिजीवी तथा कर्मचारीसँग चुनाव लक्षित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन्। जडिबुटीमा आयोजित कार्यक्रमले चुनावी रणनीति, प्रचार–प्रसारको नयाँ शैली र भावी राजनीतिक दिशाबारे गम्भीर बहस अघि बढाएको छ।
कार्यक्रममा सहभागी बुद्धिजीवी तथा कर्मचारीहरूले परम्परागत प्रचार–प्रसारको ढाँचाले अब काम नगर्ने स्पष्ट पार्दै विचार, भिजन र विश्वसनीय योजनामा आधारित नयाँ शैली आवश्यक रहेकोमा जोड दिए। उनीहरूले मतदाताको चेतनास्तर बदलिएकाले पार्टीले पनि संगठनात्मक, डिजिटल र प्रत्यक्ष संवाद केन्द्रित रणनीति अपनाउनुपर्ने सुझाव राखे।
उम्मेदवार नितेश पौडेलले आत्मविश्वासपूर्ण धारणा राख्दै भने, “हामीलाई हार्ने छुट छैन। अब हाम्रो नेतृत्वमा सरकार बन्छ, हामी पहिलो पार्टी हुन्छौं।” उनले आफू यही क्षेत्रमा जन्मिएको, हुर्किएको र विभिन्न सामाजिक कामहरू यहीँ गर्दै आएको उल्लेख गर्दै स्थानीय जनतासँग आफ्नो भावनात्मक र व्यवहारिक सम्बन्ध गहिरो रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता लिलामणि पोख्रेलले सम्बोधनका क्रममा गम्भीर राजनीतिक टिप्पणी गर्दै “साम्राज्यवादले नेपालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई आफ्नो अनुकूल बनाउने खेल खेलिरहेको” दाबी गरे। उनले जनतालाई सचेत पार्दै राष्ट्रिय स्वाधीनता र जनअधिकारको रक्षा गर्न वैचारिक स्पष्टता र संगठित संघर्ष आवश्यक रहेको बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू शशी श्रेष्ठ, कुमार पौडेल, निलकण्ठ तिवारी, भगिरथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम वरिष्ठ अधिवक्ता रमेश कुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो।
निर्वाचन परिचालन समिति संयोजक कृष्णराज सुबेदीले भावी चुनावी योजनाबारे जानकारी दिँदै घरदैलो अभियानलाई तीव्र पार्ने, युवा–बौद्धिक वर्गसँग प्रत्यक्ष संवाद बढाउने र प्रत्येक टोलसम्म सशक्त संगठन निर्माण गर्ने रणनीति प्रस्तुत गरे।
कार्यक्रमले काठमाडौं–२ मा चुनावी माहोल थप तातेको संकेत दिएको छ। नेकपाले अब विचार, संगठन र जनसम्पर्कको नयाँ मोडेलमार्फत निर्वाचन मैदानमा निर्णायक उपस्थितिका साथ अघि बढ्ने सन्देश दिएको छ।

