काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन निर्माण गर्दा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले सामाजिक प्रतिष्ठाभन्दा जिम्मेवार कानुन निर्माणलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले देशका विद्यमान समस्या समाधान गर्न सरकारले अध्यादेशमार्फत आवश्यक कदम चालेको उल्लेख गर्दै रास्वपा पार्टीको वर्तमान सरकार जनताको हितविपरीत नजाने स्पष्ट पारे ।
उनले भने,“सरकारले सोचविचार गरेर कदम चालिरहेको छ । आजसम्म सरकारले गरेका निर्णयबाट दुःखी हुनुपर्ने अवस्था आएको छैन । कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लैजान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका कामलाई गति दिन ल्याइएका अध्यादेशले देश र नागरिकलाई अप्ठ्यारो पार्ने कुनै निर्णय गरेका छैनन् ।”
लामिछानेले नेपाली जनताले परिवर्तनको अपेक्षासहित रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा आफूहरू सर्वगुण सम्पन्न भएको ठान्न नहुने बताए ।
उनले विगतका राजनीतिक दलहरूको संघर्षबाट देशमा परिवर्तन आएको स्मरण गर्दै अब जनताको जीवनस्तर बदल्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताए ।
“हामी जीवनी लेख्ने यात्रामा होइन, इतिहास लेख्न निस्किएका हौँ,” उनले भने, “अब पार्टीमा योगदानको मूल्य माग्ने बेला होइन, अवस्था बदल्ने अभियानमा जुट्ने समय हो ।”
सभापति लामिछानेले आमनागरिक, समाज र देशले रास्वपालाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै सांसदहरूलाई देश निर्माणमा रचनात्मक भूमिका खेल्न आग्रह गरे । उनले सरकारले सुकुमवासी र भूमिहीन नागरिकका अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थायी समाधानका लागि उच्चस्तरीय आयोग गठन गरिने बताए ।
“हामी चुनावमा गरेका वाचाअनुसार काम गर्छौँ । संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ,” उनले भने ।

