ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई जोगाउँदै जनताको भरोसा कायम राख्नुपर्ने बताएका छन्।
ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा उनले करिब ४८ प्रतिशत मतसहित प्राप्त जनादेशलाई जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गरे।
वाग्लेले पार्टीको वाचापत्र कार्यान्वयनमै जोड दिँदै “थिति बसाल्ने” मुख्य नारालाई व्यवहारमा उतार्नुपर्ने बताए। उनले जनताले दिएको विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्नुपर्नेमा जोड दिए।
“जनताले हामीलाई काम गरेर देखाउन जिम्मेवारी दिएका छन्, त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ,” उनले भने।
विसं २०१५ सालपछिकै ठूलो जनादेशलाई सम्मान गर्दै सांसदहरूले विधायकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनले बताए। साथै, जनताका मुद्दा उठाउन र आफ्नै सरकारबाट भएका गलत कामको समेत विरोध गर्न उनले आग्रह गरे।

