काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइँदैछ। जात्राको अवसरमा आज उपत्यकाभर सार्वजनिक बिदा दिइएको छ।
यस अवसरमा नेपाली सेनाले टुँडिखेल मा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिन्छ। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने गर्दछ।
गुरुमापाको किंवदन्ती
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको एक रूखमा बस्ने गुरुमापा नामक राक्षसले बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीय बासिन्दाले विभिन्न उपाय अपनाएर त्यसलाई नष्ट गरे।
तर, त्यसको आत्मा पुनः सक्रिय भई बालबालिकालाई हानि पुर्याउन सक्छ भन्ने डरले हरेक वर्ष घोडेजात्रा मनाइने गरिएको विश्वास छ। घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने प्रतीकका रूपमा यो जात्रा आयोजना गरिन्छ।
परम्परागत विश्वास
आजकै राति सोही रूखको फेदमा गुरुमापालाई खानेकुरा चढाउने परम्परा पनि छ। यसो गर्दा वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास गरिन्छ।
ललितपुरको फरक परम्परा
आजैका दिन ललितपुरमा एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने अनौठो परम्परा पनि प्रचलित छ।

