काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ फेरि अधुरो रहेको छ।
मंगलबार पनि बहस नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई पुनः ‘हेर्दाहेर्दै’मा राखेको छ। यसअघि आइतबार र सोमबार पनि निरन्तर सुनुवाइ भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भइरहेको सुनुवाइ भोलि चैत ५ गतेका लागि सारिएको छ, किनकि आज (बुधबार) सार्वजनिक बिदा परेको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारका पालामा दर्ता भएका लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
अधिवक्ता युवराज पौडेल ‘सफल’, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन्।

