काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गरिने भएको छ। निर्वाचन आयोगले कानुनअनुसार तोकिएको ‘क्लस्टर’का आधारमा प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रमाणपत्र वितरणसँगै निर्वाचन प्रक्रियाको महत्वपूर्ण चरण पूरा हुनेछ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ५७ सांसद समानुपातिकतर्फ निर्वाचित भएका छन्।
त्यसैगरी नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन्।
बिहीबार नै समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने आयोगले जनाएको छ।
राष्ट्रिय निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुल्ला हुने छ।

