काठमाडौँ । प्रभु बैंकको कर्जा दुरुपयोग प्रकरणमा संलग्न रहेको आरोपमा बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा प्रवाह तथा दुरुपयोग गरेको अभियोगमा उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह गरिएको कर्जाको दुरुपयोग प्रकरणमा डङ्गोलको संलग्नता पुष्टि भएपछि कारबाही अघि बढाइएको हो।
यसअघि सोही प्रकरणमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनमाथि पनि बैंकिङ कसुरमा अनुसन्धान भइसकेको छ। अनुसन्धानका क्रममा संकलित प्रमाण र विज्ञ विश्लेषणले डङ्गोलको भूमिका देखाएको प्रहरीको भनाइ छ।
ललितपुर निवासी डङ्गोलमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा चलाउन उच्च अदालत पाटनबाट अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

