काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका हुन्।
अर्यालको उम्मेदवारीमा प्रस्तावक रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको कक्ष नं १ मा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारहरूको नामावली आजै अपराह्न २:३० बजे सार्वजनिक गरिने जानकारी संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले दिएका छन्।
आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम रहेको छ।

