काठमाडौं — एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको छ। उनले अब बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम सञ्चालन र कार्यान्वयनको नेतृत्व गर्नेछिन्।
श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। उनले उक्त पद ३ अप्रिल २०२५ देखि सम्हालेकी थिइन्। एडीबीमा उच्च नेतृत्व तहमा पुग्ने थोरै नेपालीमध्ये उनी एक हुन्।
यसअघि श्रेष्ठले एडीबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक, सहायक सचिव लगायत विभिन्न वरिष्ठ पदमा काम गरिसकेकी छिन्। साथै दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापारसम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि जिम्मेवारी सम्हालेकी थिइन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसिया विभागको महानिर्देशक बन्न पाउँदा सम्मानित महसुस भएको बताएकी छिन्। उनले समावेशी र दिगो विकासलाई थप मजबुत बनाउन क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
श्रेष्ठसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन तथा मूल्यांकन क्षेत्रमा २७ वर्षको अनुभव छ। उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया बाट अर्थशास्त्रमा पीएचडी र स्मिथ कलेज बाट अर्थशास्त्रमा स्नातक (बीए) गरेकी छन्।
उनले अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका २७ वर्षमध्ये २३ वर्ष एडीबीमै कार्यरत रहँदै मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा कार्य सञ्चालनसम्बन्धी व्यापक अनुभव हासिल गरेकी छन्।
सन् १९६६ मा स्थापना भएको एडीबी एसिया–प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो आर्थिक वृद्धिलाई समर्थन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। यसमा हाल ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० राष्ट्र एसियाका हुन्।

