लेखक: धनकुमार श्रेष्ठ
“जब समाज थाक्छ, मूल्यहरू हराउँछन्, र मानिसहरू एकअर्काबाट टाढिँदै जान्छन्। त्यस बेला पुनर्जागरण अपरिहार्य बन्छ। आज नेपाली समाज त्यही मोडमा उभिएको छ।”
नेपाली समाजको वर्तमान अवस्था:
आजको नेपाली समाज अनेकौँ चुनौतीहरूको घेरामा परेको छ। कहालिलाग्दो गरिबी, भोकमरी र जीविकोपार्जनकै अभावले जनजीवन थिचिएको छ। दैनिक संघर्षमै सीमित जीवनले मानिसलाई थकित बनाएको छ। अशिक्षा र अज्ञानताको अन्धकार अझै धेरै ठाउँमा गहिरो छ। समस्या र जटिलताहरूको बोझले समाज थिलथिलो बनेको छ। मानिसहरू मानसिक रूपमा थाकेका छन्। हाँसो हराएको छ, पीडा लुकेको छ, र सामाजिक चासो घट्दो क्रममा छ।
सामाजिक सद्भाव, भाइचारा र सहयोगको भावना कमजोर बन्दै गएको छ। छिमेकबीचको आत्मीयता घट्दो छ। परम्परागत रूपमा दुःख-सुख साट्ने, सराउ-सघाउ गर्ने, ऐंचोपैचो चलाउने संस्कारहरू औपचारिकतामा सीमित हुँदै गएका छन्।
आजको समाजमा “म ठूलो” बन्ने प्रवृत्ति बढेको छ, तर “हामी मिलौँ” भन्ने भावना हराउँदै गएको छ। यसरी समाज सुस्त, निरीह र सुषुप्त अवस्थामा पुगेको छ।
सम्भावनाका उज्याला बाटाहरू:
यति धेरै चुनौतीका बीच पनि सम्भावनाहरू जीवित छन्। विशेषगरी टोल विकास संस्थाहरूलाई सामाजिक रूपान्तरणका अग्रदूतका रूपमा विकास गर्न सकिन्छ।
यी संस्थामार्फत नागरिकहरूलाई संगठित गर्न, सामाजिक सद्भाव बढाउन, विकास निर्माणमा जनसहभागिता अभिवृद्धि गर्न, तथा सीप र आयमूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
त्यसैगरी:
अन्यायविरुद्ध आवाज उठाउने, विकृति-विसङ्गतिविरुद्ध सचेतना फैलाउने, अनियमितताविरुद्ध खबरदारी गर्ने, अशक्त र पछाडि परेका वर्गलाई सशक्त बनाउने जस्ता कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ।
सामाजिक पुनर्जागरण अभियानको आवश्यकता:
समाज विविधताले भरिएको छ। तर यही विविधता एकताको आधार बन्नुपर्नेमा विभाजनको कारण बन्दै गएको छ।
धेरै मानिसहरू सकारात्मक काम गर्न इच्छुक भए पनि अगुवाइ, समन्वय र प्रेरणाको अभावले उनीहरू निष्क्रिय बनेका छन्। त्यसैले वल्लोघर र पल्लोघर जोड्न, मनमुटाव घटाउन, अनेकतामा एकता कायम गर्न, मानवीय र जिम्मेवार समाज निर्माण गर्न “सामाजिक रूपान्तरणका निम्ति पुनर्जागरण अभियान” अपरिहार्य बनेको छ।
समाज रूपान्तरणका मूल आधार:
* व्यक्तिको चेतना र व्यवहार परिवर्तन
* परिवारमा संस्कार र अनुशासनको विकास
* समुदायमा सहकार्य र उत्तरदायित्वको अभ्यास
पुनर्जागरणका मुख्य रणनीतिहरू:
* चेतनामूलक अभियान र संवाद
* “एक टोल-एक पुस्तकालय” मार्फत पठनसंस्कृति विकास
* नैतिक शिक्षा र जीवनमूल्यको पुनःस्थापना
* सामुदायिक संवाद र मेलमिलाप
* सेवा संस्कृतिको पुनर्जीवन
* सीप, रोजगारी र आत्मनिर्भरता अभियान
* सुशासन, पारदर्शिता र सामाजिक जवाफदेहिता
* डिजिटल साक्षरता र प्रविधिको प्रयोग
* संस्कृति, पहिचान र एकताको संरक्षण
* वातावरण र स्वास्थ्य चेतना
* युवा तथा महिला नेतृत्व विकास
नयाँ अभियानका आयामहरू:
* एक परिवार-एक सामाजिक जिम्मेवारी
* महिनाको एक दिन सामुदायिक सेवा
* युवा स्वयंसेवक सञ्जाल
* “हाम्रो टोल-हाम्रो गर्व” अभियान
* सकारात्मक कथाहरूको प्रचार
* सामुदायिक समस्या समाधान केन्द्र स्थापना
नेपाली समाज अन्ततः कसरी बदलिन सक्छ?:
नेपाली समाजको रूपान्तरण क्रमिक प्रक्रिया हो।
जब चेतना बदलिन्छ, व्यवहार बदलिन्छ, र त्यसले संरचना बदल्छ। त्यसपछि समाज स्वतः परिवर्तन हुन्छ। व्यक्तिबाट परिवार, परिवारबाट समुदाय, र समुदायबाट राष्ट्रसम्म फैलिएको सकारात्मक अभ्यासले दीगो परिवर्तन ल्याउँछ।
“म” बाट “हामी” तर्फको यात्रा नै वास्तविक रूपान्तरण हो।
अभियानको शुभारम्भ:
नयाँ वर्ष २०८३ को सुखद अवसरमा यो पुनर्जागरण अभियान
त्रियुगा नगरपालिका-११, उदयपुर स्थित संगमटोलबाट तथा सर्लाहीको विष्णुपुर गाउँपालिका, सिमराबाट औपचारिक रूपमा आरम्भ गरिनेछ। यस अभियानको संयोजन तथा व्यवस्थापन यस लेखका स्तम्भकारबाट हुनेछ।
निष्कर्ष: अब सुरु गरौँ !
यो अभियान कसैको एक्लो प्रयास होइन। यो हामी सबैको साझा जिम्मेवारी हो। प्रत्येक टोल, प्रत्येक घर र प्रत्येक नागरिकबाट सुरु भएको सानो परिवर्तन नै भोलिको ठूलो रूपान्तरण बन्न सक्छ। पुनर्जागरण बाहिरबाट हैन, भित्रैबाट जाग्ने चेतना हो।
अब प्रश्न यो हैन कि “समाज कहिले बदलिन्छ?” प्रश्न यो हो “हामी कहिले बदलिन्छौँ?” त्यसैले, आजैबाट सुरु गरौँ।
“सामाजिक रूपान्तरणका लागि पुनर्जागरण अभियान”
***

