सुधिर कर्माचार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण विरुद्धको अभियानलाई निरन्तरता दिएको छ। आज फागुन २८ गते काठमाडौँको असन क्षेत्रस्थित एक मन्दिरको पेटीमा सामान भण्डारण गरी व्यापार गरिरहेको अवस्थामा काठमाडौँ महानगर प्रहरी बलले ती सामान जफत गरेको छ। महानगरपालिकाका अनुसार मन्दिर परिसर तथा सार्वजनिक पेटीमा अवैध रूपमा सामान राखेर व्यापार गरिँदै आएको गुनासो आएपछि महानगर प्रहरीले अनुगमन गरी कारबाही गरेको हो।
अनुगमनका क्रममा मन्दिरको पेटीमा राखिएका विभिन्न व्यापारिक सामान हटाइ जफत गरिएको महानगर प्रहरीले जनाएको छ। महानगरले सार्वजनिक स्थान, धार्मिक क्षेत्र र सडकपेटी अतिक्रमण गरी गरिएको व्यापार नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्दै आएको छ।
कामु महानगरप्रमुख सुनिता डंगोलले महानगरको कामलाई निरन्तरता दिएकी छन्। डंगोलले मेयर बालेनले अघि सारेका सरसफाइ, सुशासन र सार्वजनिक स्थान व्यवस्थापन सम्बन्धी अभियानलाई निरन्तर अगाडि बढाइरहेकी छन्।
महानगरका अधिकारीहरूका अनुसार मेयरको अनुपस्थितिमा पनि नगरको सरसफाइ, व्यवस्थापन र विकासका काममा कुनै कमी आएको छैन। महानगरले आगामी दिनमा पनि सार्वजनिक स्थान अतिक्रमण गर्ने तथा अव्यवस्थित व्यापार गर्नेहरूमाथि कडाइका साथ कारबाही जारी रहने जनाएको छ।

