काठमाडौं —
नेकपा निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा अनावश्यक तथा समाजमा अस्थिरता निम्त्याउन सक्ने भिडियो निर्माण गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार, मंगलबार बिहान करिब ११ बजेतिर सादा पोसाकमा रहेका प्रहरी टोलीले उनलाई काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिएको हो। उक्त टोलीले “हामी पार्टीका मान्छे हौँ, काम छ” भनी परिचय दिँदै उनलाई साथमा लगेको बताइएको छ।
नियन्त्रणपछि तिमल्सिनालाई भद्रकालीस्थित प्रहरी परिसरमा लगिएको थियो। त्यहाँ प्रहरीले उनलाई चेतावनी दिँदै भविष्यमा सरकारको अनुमति बिना वा सामाजिक शान्ति भंग हुने किसिमका भिडियो निर्माण नगर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।
प्रहरीले यस्तो गतिविधि पुनः दोहोरिए कडा कानुनी कारबाही गरिने समेत स्पष्ट पारेको छ।
उल्लेखनीय छ कि तिमल्सिनालाई गत २९ असोजमा तत्कालीन माओवादी निकट पार्टीले जेनजी रेड फोर्सको संयोजकमा नियुक्त गरेको थियो। सो संगठनले हाल देशभर आफ्नो सञ्जाल विस्तार गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

