काठमाडौँ । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई आज (मंगलबार बिहान) बानेश्वरस्थित निवासबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रिजाललाई पक्राउ गरेको हो।
भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’सम्बन्धी प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जनाइएको छ। यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ परिसकेका छन्।
उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र तत्कालीन सीडीओ रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको थियो।
उक्त दफाअनुसार हेलचक्य्राइँपूर्ण कार्य गरी कसैको ज्यान मार्न नहुने व्यवस्था रहेको छ। यस कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।
यसैबीच, मन्त्रिपरिषद्ले सुरक्षाकर्मीका हकमा छुट्टै अध्ययन समिति गठन गरी त्यसको सिफारिसअनुसार कारबाही अघि बढाउने निर्णय गरेको छ ।

