काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी नेतृत्वलाई निर्वाचन प्रभावित हुनेगरी गुटबन्दी नगर्न कडा चेतावन दिएका छन्।
महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगत तर्फको उम्मेदवारी घोषणा कार्यक्रममा उनले भावी नेतृत्वलाई तटस्थ रहन आग्रह गर्दै गुटबन्दी नगर्न सुझाव दिएका हुन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन्।
अध्यक्ष ढकालले पर्दापछाडि आफ्नो प्यानल नबनाउन र चुनावी गतिविधिमा सक्रिय नहुन भावी अध्यक्ष श्रेष्ठलाई सचेत गराउँदै यस्तो कार्य विधानको मर्मविपरीत हुने बताए। उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली नेतृत्व हस्तान्तरण सहज र विवादरहित बनाउन ल्याइएको भए पनि यसको दुरुपयोग भइरहेको संकेत गरे।
आफू हालसम्म सर्वसम्मतिको पक्षमा रहेको उल्लेख गर्दै उनले भावी अध्यक्षले गुटबन्दी नगरे राम्रो हुने, अन्यथा आफू पनि चुप लागेर नबस्ने चेतावनी दिए। “यदि उहाँले आफ्नै प्यानल बनाएको घोषणा गर्नुभयो भने म पनि अर्को पक्षमा खुलेर समर्थन गर्छु,” उनले भने।
उनका अनुसार महासंघको आगामी निर्वाचन केवल सदस्य वा कार्यसमिति स्तरमा सीमित नरही वर्तमान र भावी अध्यक्षबीचको प्रतिष्ठाको लडाइँ बन्न सक्ने देखिएको छ।
अध्यक्ष ढकालले आफ्नो तीन वर्षे कार्यकालमा महासंघले उठाएका पाँच प्रमुख एजेन्डा सफलतापूर्वक पूरा भएको दाबी गर्दै आगामी नेतृत्वका लागि नयाँ एजेन्डा तय गर्नु चुनौतीपूर्ण रहेको बताए। विशेषगरी ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन रणनीति’लाई उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।
मुलुकमा शक्तिशाली सरकार रहेको अवस्थामा निजी क्षेत्र विभाजित हुनु दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै उनले महासंघको शक्ति एकतामा रहेको र गुटबन्दीले सरकारसँगको बार्गेनिङ शक्ति कमजोर बनाउने चेतावनी दिए।

