–विश्वनाथ खरेल
विश्वभरका हिन्दू धर्मावलम्वीका लागि महान् दिन हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनु भएको आजको दिनलाई शिवरात्री पर्वकोरुपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ । सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ । आजन्मा भएर पनि उहाँले प्राणीहरुको हितसाधना गर्न धरातलमा भोलेबाबाकोरुपमा भक्तहरुलाई दर्शन दिनु हुन्छ । तसर्थ सबैको कल्याण गर्ने भगवान् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेकरुपमा यस धर्तीमा प्रकट हुनुभएको छ । पशुरुपी हामी मानवहरुका उहां पति अर्थात मालिक हुनुहुन्छ, त्यसैले उहाँकोनाम पशुपतिनाथ भयो । यस विश्वकै मालिक भएकाले उहाँ विश्वनाथ हुनुभयो । आफ्ना भक्तले जे मागे पनि त्यहि दिने भएकाले उहाँ भोलेनाथ हुनुभयो र पापी अन्यायी, अधमीहरुलाई उनीहरुले गरेका कुकर्मको सँजाय दिने भएकाले उहाँ उनीहरुका लागि काल , महाकाल र रुद्र बन्नुभएको छ ।
सन्तका लागि शिव र दुष्टका लागि महाकालको रुपमा रहनु भएका परमपिता परमेश्वर शिवको नाम स्मरण, आराधना, पूजा, महिमागानले व्यक्ति व्यक्तिले शिव, शिवमात्र भने पनि सम्पूर्ण समाजको भलाई हुन्छ र जीवमध्ये सर्वश्रेष्ठ मानवजातिले आफ्नो मात्र होइन अन्य प्राणीको पनि भलाइ गर्न सक्तछ । मानवले सत्कर्म गरेमा सद्बुद्धि मिल्दछ र बृद्धिमतापूर्वक गरिएको कामबाट सम्पूर्ण समाजको भलाई हुन्छ । वर्तमान विश्वमा मानिसहरु भौतिक सुखको पछाडि आँखा चिम्लेर दौडदा अँध्यारो कुवामाखसेको पत्तै पाइदैन । भौतिकवाद विनाशवाद हो भन्ने धेरैलाई ज्ञान नभएकाले भौतिक सुखमा नै सम्पूर्ण मानव लालयित भइरहेका छन । वास्तवमा भौतिक प्रविधिले मानवलाई क्षणिक सुख र तुष्टिमात्र दिन्छ, यो क्षणिक र नाशवान छ । आध्यत्मिक ज्ञानको अभावमा मानिसहरु पशु झैं भएका छन् । उनीहरु उचित र अनुचित छुट्याउन सक्तैनन् । यसर्थ समाजमा कलह, हिंसा, अशान्ति फैलिरहेको छ । आध्यत्मिक ज्ञानले परिपूर्ण मानवसमाजमा अभाव र अशान्तिको स्थानै रहदैन ।
भगवान् शिवको स्वरुपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषहरुले उहाँको परिकल्पना गरेका छन् । हामी प्राणीहरुसँग दुईवटा चर्मचक्षु त छ तर, तेश्रो ज्ञानचक्षु छैन् । ज्ञानचक्षुको अभावमा नै हामी यस नाशवान संसारमा एक दिन नाश हुने शरीरका लागि सुख शयल, आरामको खोजीमा अनमोल जीवन गुमाउंछौ । यसमा कुनै सार्थकता छैन् । शिवको तेस्रो नेत्रको आराधना गरेमा हामीलाई ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्दछ । हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम शान्ति हुन्छ । शिवले सबैलाई सद्बुद्धि दिनुहुन्छ र पनि मानिसले त्यसलाई प्रयोग गर्न नजानेर दुःखको जञ्जालमा फसिरहेका छन् ।
आजका युवाहरु सही ज्ञानको अभावमा विनाशकारी बाटोतर्फ अग्रसर हुँदैछन् । यो उनीहरुको दोष होइन । सामाजिक संरचना, शैक्षिक स्थिति र समुचित मार्गदर्शन नपाएर युवावर्ग क्षणिक सुखका लागि लागूपदार्थको व्यसनी बनेका छन् । लागूपदार्थले एक देशको मात्र होइन, विश्वका नै युवावर्गलाई आफ्नो दास बनाइसकेको छ र दिनानुदिन यो क्रम बढ्दो छ । युवावर्गलाई समुचित शिक्षा दिएर अभिभावकहरुले सत्मार्ग देखाएर, भौतिकवाद र अध्यात्मबादका बारेमा यथेष्ट ज्ञान गराएर कुलतबाट छुटकारा दिलाउन सकिन्छ । सही ज्ञानको अभावमा युवावर्ग पथभ्रष्ट भएका हुन । यसरी प्राचिन नेपालमा पशुपतिनाथको अति नै महत्वपूर्ण स्थान हुनुको साथै पशुपतिको चर्चा टाढा–टाढासम्म हिन्दूहरुको बढ्दो धार्मिक प्रचार एवं प्रभाव सहन नसकी हिन्दू धर्मलाई नष्ट गर्ने उद्देश्यले तत्कालीन बंगालका सुलतान समसुद्दीनद्वारा सन् १३४६ अर्थात वि.सं. १४०९ मार्गमा काठमाडौं उपत्यकाभित्रसमेत आक्रमण गरी विभिन्न हिन्दू र बौद्ध गुम्बा, मठ–मन्दिरहरुका अतिरिक्त पशुपतिनाथको मूर्तिलाई तीन टुक्रा पार्ने तथा अन्य मन्दिर देवालय, बौद्धस्तुपहरु भत्काउने, बिगार्ने कार्यजस्ता निन्दनीय कार्यहरुद्वारा प्रसस्तः धन –सम्पति लुटी काठमाडौं उपत्यकामा हाहाकार मच्चाई ध्वंसात्मक कार्यहरु गरी हिन्दूधर्मको उपहास गरेका थिए । हलाहल विषलाई पिएर सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शंकर सम्पूर्ण जीवका अधिष्ठाता हुनुहुन्छ । सबैको कल्याण गर्न उहाँले हलाहल जस्तो विषपान गर्नुभएको हो । समाजका अहितकारी वस्तुहरु जस्तो कि, सबै लागूपर्दाथ हामी शिवलाई समर्पण गरौं । शिवले हामीलाई त्यसबाट रक्षा गनुहुन्छ । समाजका सबैजसो अरिष्टलाई अँगाल्ने र गरिष्ठपदार्थ प्राणीहरुलाई दिने भगवान् शिवको महिमा गाउने आजको दिनमा युवावर्गले सन्मार्गमा अग्रसर हुने प्रण गर्नु उनीहरुका लागि मात्र होइन समाज र देशका लागि नै हितकार हुनेछ । भगवान् शिवले सबैलाई सद्बुद्धि दिएर रक्षा गर्नुहोस् । यसबाट नै सम्पूर्ण प्राणी मात्रको कल्याण हुने कुरामा कसैको पनि दुईमत नहोला ।

