जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल प्रकृतिको टाउकोको नशासम्बन्धी शल्यक्रिया (न्युरो सर्जरी) सफलतापूर्वक सम्पन्न भएको छ। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारका दृष्टिले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (National Academy of Medical Sciences) अन्तर्गतको National Trauma Center का वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सक टोलीले पातारासी गाउँपालिका–३, छुमगाउँ निवासी गोरबहादुर बोहराको सफल शल्यक्रिया गरेको हो।
वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि बोहरालाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो। विशेषज्ञ चिकित्सकको अभावका कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ गर्ने तयारी भइरहेका बेला वरिष्ठ न्युरोसर्जन डा. खड्का जुम्लामै रहेको जानकारी पाएपछि बिरामीका आफन्तले शल्यक्रियाका लागि आग्रह गरेका थिए।
योग शिविरका सिलसिलामा गुठीचौर पुगेका डा. खड्काले मानवीय भावनाले प्रेरित हुँदै निःशुल्क रूपमा शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ सफल अपरेसन गरिएको हो। शल्यक्रियामा प्रतिष्ठानका डा. निर्मल थापा, डा. रमेश काफ्लेलगायत चिकित्सकको टोली पनि संलग्न रहेको जनाइएको छ।
निःशुल्क रूपमा गरिएको यस शल्यक्रियाले बिरामीको जीवन मात्रै जोगाएन, परिवारको ठूलो आर्थिक भार र समयसमेत बचाएको छ। बिरामीका आफन्तले डा. खड्काप्रति विशेष आभार व्यक्त गरेका छन्।
पछिल्ला दिनमा प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातक तहको पठनपाठनसमेत सुरु भइसकेको छ। प्रतिष्ठानलाई उपचार र चिकित्सा शिक्षाको उत्कृष्ट केन्द्र बनाउने लक्ष्यका साथ अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

