भक्तपुर ।
नयाँ वर्ष २०८३ को अवसरमा सूर्यबिनायक नगरपालिका वडा नं. ८ स्थित ऊँ श्री परमहंस आश्रममा विशेष आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा आश्रममा पधार्नु भएका श्री स्वामी तुलसीनन्द महाराजले “यथार्थ गीता” का विषयमा प्रवचन दिँदै जीवनलाई सही मार्गमा अघि बढाउन आध्यात्मिक ज्ञानको आवश्यकता औंल्याउनुभयो।
उहाँले गीता केवल धार्मिक ग्रन्थ मात्र नभई व्यवहारिक जीवनका लागि मार्गदर्शक पुस्तक भएको उल्लेख गर्दै मानव जीवनमा सकारात्मक सोच, संयम र आत्मज्ञानको महत्वबारे प्रकाश पार्नुभयो।
नयाँ वर्षको पहिलो दिन नै यस्तो आध्यात्मिक वातावरणमा आशिर्वचन प्राप्त गर्न पाउँदा सहभागीहरू उत्साहित देखिन्थे। कार्यक्रममा सहभागी भक्तजनहरूले यसलाई वर्षभरिका लागि प्रेरणादायी सुरुवातको रूपमा लिएका छन्।
कार्यक्रम शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

