मोरङ । सुन्दरहरैंचा नगरपालिका–९, विराटचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रमले आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म स्वर्ण महोत्सव आयोजना गरेको छ। महोत्सव ई.सं. २०२६ अप्रिल १५ देखि २० सम्म सञ्चालन हुनेछ।
महोत्सवका अवसरमा १०८ श्रीमत्तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरिने छ।
कार्यक्रममा भारतका विभिन्न धर्मपीठबाट आएका जगद्गुरु तथा धर्माचार्यहरू सहित सन्त, विद्वान, उद्योगी, व्यापारी र उच्चपदस्थ व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा श्री १०८ मोहनप्रियाचार्यजी महाराजबाट वाणी चर्चा तथा श्री १०८ लक्ष्मणदेवजी महाराजबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने छ। साथै सप्ताहव्यापी कार्यक्रममा गुरुकुल शुभारम्भ, धर्मसभा, सन्त–विद्वान सम्मेलन, महिला तथा युवा केन्द्रित कार्यक्रम, गोष्ठी, सम्मान तथा प्रतियोगितात्मक कार्यक्रमहरू पनि समावेश गरिने छन्।
महोत्सवलाई भव्य रूपमा सफल बनाउन अध्यक्ष कृष्ण प्रसाद शर्मा बास्तोलाको संयोजकत्वमा ८०१ सदस्यीय मूल समारोह समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ। व्यवस्थापन, प्रचारप्रसार, आवास, भोजन, यातायात, सुरक्षा, अतिथि सत्कार लगायतका कार्य ती उपसमितिहरूले सम्हाल्नेछन्।
यसअघि चैत्र २१ गते ४० जिल्लाका प्रतिनिधिहरूको सहभागितामा बृहत् तयारी कार्यक्रम सम्पन्न भइसकेको प्रचारप्रसार संयोजक शिवलाल भट्टराईले जानकारी दिए।
आयोजकका अनुसार स्वर्ण महोत्सवमार्फत सुन्दरहरैंचालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी भई आध्यात्मिक ज्ञान आर्जन गर्न सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

