काठमाडौँ । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार बिहान करिब ०५ः४० बजे उनलाई निवासबाटै नियन्त्रणमा लिइएको हो । जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अनुसन्धानका लागि गठन गरिएको जाँचबुझ आयोग को सिफारिसका आधारमा पक्राउ गरिएको जनाइएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो ।
शुक्रबार गठन भएको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रक्रिया अघि बढाइएको हो । गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गर्दै आएका थिए ।
आयोगसँगको बयानमा लेखकले आन्दोलनका क्रममा गोली चलाउन आफूले आदेश नदिएको दाबी गरेका थिए । तर, आयोगको प्रतिवेदनले उनीसहितका उच्च पदस्थ व्यक्तिहरूमाथि जिम्मेवारी तोकेको छ ।यसैबीच, प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई समेत पक्राउ गर्ने तयारी भइरहेको जनाइएको छ ।

