– नारायण शर्मा
विश्वमजदुर मुक्तिआन्दोलनका महान् गुरुद्वय कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणामार्फत “संसारका मजदुरहरु एक होऊ” (Workers of all countries, unite ) भन्ने ऐतिहासिक नारा उद्घोष गर्नुभयो । उहाँहरुले मजदुरहरुलाई आफ्नो हक-अधिकार र मुक्ति-प्रगतिको लागि पुँजीपति र पुँजीवादका विरुद्धमा संघर्ष (class struggle ) गरेर ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन (खानापिना, सरसफाई, अध्ययन, चिन्तन, मनन, भेटघाट, संगठन र संघर्ष आदि सम्बन्धी आफ्नो स्वतन्त्र जीवन) को हक स्थापित गर्नका लागि पनि आह्वान गर्नुभयो । त्यसैको विश्वव्यापी प्रभावस्वरुप इतिहासमै पछिल्लो ठुलो परिणाम अमेरिकाको सिकागो शहरमा १ मे १८८६ मा देखापर्यो । त्यस दिन ३ लाख मजदुरहरुले उद्योगधन्दा आदिमा आफ्नो लागि ८ घन्टा कार्य दिवसको माग गर्दै आम हडताल गरे । आन्दोलनकै क्रममा मे ३ मा सिकागोको `हेमार्केट स्क्वायर´ मा विरोध प्रदर्शनको तयारी गर्दै गर्दा हडताल दवाउन र प्रदर्शन असफल पार्न सरकारले षड्यन्त्रपूर्वक कसैलाई भीडमा वम प्रहार गर्न लगाई प्रहरीलाई गोली चलाउने वातावरण बनाइयो । तत्पश्चात् प्रहरीले गोली हानी १ जना मजदुर एक जना प्रहरीको पनि हत्या गर्यो भने ८ जनालाई गिरफ्तार गर्यो । गिरफ्तारमध्ये ७ जनालाई पनि हत्या गर्यो जसमध्ये ४ मजदुर नेतालाई त झुन्डाएरै मृत्युदणड दिइएको थियो । यसको विश्वव्यापी निन्दा, विरोध र प्रतिवाद भइनैरह्यो ।
आफूहरुले नै मजदुरहरुलाई एकताबद्ध हुन र भीषण वर्गसंघर्ष (class struggle) चलाउन सैद्धान्तिक ज्ञान प्रदान गरेकोले त्यसको प्रभाव र परिणामस्वरुप भएको उक्त आन्दोलनमा तत्कालीन अमेरिकी सरकारद्वारा क्रूर हत्या र निर्मम दमन भएपछि मार्क्सको देहान्त भएपनि एङ्गेल्सलगायतका दोस्रो अन्तर्राष्ट्रियका कम्युनिस्ट र मजदुर नेताहरुले उक्त घटनाको तीव्र भर्त्सना र विरोध गर्नुभयो । त्यसपछि सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको फ्रान्सको पेरिसमा भएको प्रथम महाधिवेसनमा `हेमार्केट स्क्वायर´ मा भएको उक्त दमनको विरोधमा र त्यसक्रममा मारिएका मजदुरहरुको सम्झना र सम्मानमा अर्को बर्ष १८९० मे १ मा मजदुरहरुको विश्वव्यापी प्रदर्शन गर्ने निर्णय गर्नुभयो । त्यो आन्दोलन अभूतपूर्व रुपमा सफल पनि भयो । तत्पश्चात् १८९१ मा बेल्जियमको ब्रसेल्समा भएको दोस्रो महाधिवेसनले १ मेलाई विश्वका सबै मजदुरले काम बन्द गरेर विश्वभरिनै मजदुर दिवस मनाउने निर्णय गर्यो । त्यसै बर्षदेखि मे दिवसलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा मनाइँदै आइएको हो । अमेरिका बाहेकका संसारका सबैजसो राष्ट्र र संयुक्त राष्ट्रसंघले मई दिवसको अर्थ र महत्व बोध गरेर मे १ लाई मजदुर मुक्तिदिवसको रुपमा स्वीकार गरेर मजदुरहरुलाई सार्वजनिक विदा दिने र त्यसदिनको स्मरण र सम्मान गर्दै पूर्ण मुक्तिको निम्ति संघर्ष गर्ने प्रण-प्रतिज्ञासहित मनाउने गरिरहेका छन् । त्यसो गर्न लागेको आज १३७ बर्ष भएछ । त्यसैले यस ऐतिहासिक दिवसका सन्दर्भमा सर्वप्रथम सिकागोको `हेमार्केट स्क्वायर´मा भएको उक्त दमनमा शहादत प्राप्त गर्ने ती वीर शहीदहरुलाई हार्दिक स्मरण र श्रद्धा गर्नु सम्पूर्ण श्रमजीवी मानवजातिको कर्तब्य हुन आउँछ । साथै पुँजीवाद र पुँजीपतिद्वारा शोषित-पीडित सर्वहारा श्रमजीवी मजदुर वर्गको पूर्ण मुक्ति, न्याय र समानताको लागि एकताबद्ध भै लड्ने प्रतिबद्धता सहित सम्बन्धित सबै मजदुर मुक्तिका हिमायतीहरुलाई पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रहन पूर्ण शक्ति, आवश्यक बुद्धि र भरपूर साहस मिलोस् भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्नु आजको आवश्यकता हो ।
यसका अतिरिक्त यस ऐतिहासिक दिवसका सन्दर्भमा यी दुई विस्मातजनक कुराहरु स्मरण गर्न र सावधान रहनको लागि सम्बन्धित सबै समक्ष अपिल गर्नु पनि म आफ्नो कर्तव्य ठान्दछु ।
पहिलो संकेत हो-
नेपालमा बालेन सरकारद्वारा ट्रेड युनियनको अधिकारमात्र होइन मानव अधिकार, आवास अधिकार लगायतका नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनद्वारा समेत प्रदत्त अधिकारहरु खोसिदै गरेको लज्जास्पद संकेत !
दोस्रो संकेत हो-
अमेरिकाजस्तो लोकतन्त्र र मानव अधिकारको दुहाइ दिने देस जहाँ मजदुर आन्दोलन विकसित भै मई दिवस विश्वव्यापी भयो, त्यहीं मई दिवसलाई मान्यतानै नदिइएको हास्यास्पद संकेत !
प्रस्तुत टिप्पणीमा यी दुवै संकेतका बारेमा स्पष्ट बुझिने गरी चर्चा गर्दा रचनाको आकार ठूलो भै पाठकहरुलाई समय र रुचि दुवै कम हुनसक्ने र आजको १ मेको ऐतिहासिक अवसरमा यो सन्देस पनि नपुग्ने भएकाले यी विषयमा छिटै अन्यत्रै चर्चा गर्ने प्रतिबद्धतासहित यहीं बिट मार्न चाहन्छु ।
१ मई २०२६ ( १८ बैशाख २०८३)
ह्युस्टन टेक्सास ।

