काठमाण्डौ — सार्वजनिक पदमा पुगिसकेपछि पनि श्रमलाई सम्मान गर्दै आफ्नै पसिनामा जीवन धानिरहनु भएकी एक महिलाको कथा यतिबेला धेरैका लागि प्रेरणाको विषय बनेको छ। शुवरानी थारू यतिबेला मधुवन नगरपालिका–४, माछढ चोक नजिकै सडक किनारमा आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै जीविका चलाइरहनुभएको छ।
४३ वर्षीया शुवरानीका अनुसार काम कहिल्यै सानो–ठूलो हुँदैन, कामप्रतिको जाँगर र आत्मसम्मान ठूलो कुरा हो। “आफ्नो श्रम गरेर खानुमा लाज मान्नु पर्दैन,” उहाँको स्पष्ट भनाइ छ। पूर्व नगर उपप्रमुख भएर पनि मकै पोलेर बेचिरहेको देख्दा कतिपयले प्रश्न गर्ने गरेको उल्लेख गर्दै उहाँ आफू त्यसलाई सहज रूपमा लिने बताउनुहुन्छ। “म कसैलाई ठग्न वा चोरी गर्न गएको होइन, आफ्नै मेहनतको काम गरिरहेकी छु,” उहाँ भन्नुहुन्छ।
नगरपालिकाको जिम्मेवारी सम्हाल्नुअघि पनि उहाँ कृषि कर्ममै सक्रिय हुनुहुन्थ्यो। जग्गा भाडामा लिएर खेती गर्ने, मकै लगाउने र त्यसलाई पोलेर बेच्ने काम पहिलेदेखि नै गर्दै आएको उहाँ बताउनुहुन्छ। पदावधि सकिएपछि फेरि पुरानै कर्ममा फर्किनुभएको हो।
उहाँका अनुसार मकै दाना बनाएर बेच्दा प्रतिक्विन्टल बढीमा चार हजार रुपैयाँसम्म आम्दानी हुन्छ। तर घोगाकै रूपमा बेच्दा प्रतिघोगा १५ रुपैयाँ र पोलेर बेच्दा २५ रुपैयाँसम्म मूल्य पाइने भएकाले यसबाट राम्रो आम्दानी हुने गरेको छ। गत वर्ष मकै पोलेर मात्रै ७५ हजार रुपैयाँ कमाएको बताउँदै यस वर्ष एक लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको उहाँले सुनाउनुभयो।
शुवरानीको परिवारको मुख्य आधार कृषि र पशुपालन हो। श्रीमान् फुलराम थारूका अनुसार परिवारसँग १० कठ्ठा आफ्नै जमिन भए पनि थप दुई विघा जग्गा भाडामा लिएर खेती भइरहेको छ। त्यहाँ मकै, गहुँ र तरकारी उत्पादन गरिन्छ। साथै साना–ठूला गरी आठ वटा भैंसी र एक गाई पालिएको छ, जसबाट दैनिक २० लिटरसम्म दूध बिक्री हुने गरेको छ। यही मेहनतले आठ जनाको परिवार धानिएको छ।
राजनीतिक जीवनमा सक्रिय शुवरानी हाल नेकपा (एमाले)को प्रदेश समिति सदस्यको जिम्मेवारीमा हुनुहुन्छ। यसअघि उहाँ तत्कालीन नेकपा माओवादीको तर्फबाट मधुवन नगरपालिकाको उपप्रमुख हुनुभएको थियो। उपमेयर हुँदा पाएको तलबभत्ताको ठूलो हिस्सा आफ्नै स्वास्थ्य उपचारमा खर्चिएको उहाँ बताउनुहुन्छ। द्वन्द्वकालमा भोगेको यातनाका कारण अझै पनि लामो दूरी हिँड्न र भारी बोक्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ।
ऋण गरेर गाउँमै सानो घर बनाएको र अझै ऋण तिरिरहेको बताउँदै शुवरानी गर्वका साथ भन्नुहुन्छ—
“जनताले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गरेँ, बेइमानी गरिनँ। अहिले पनि आफ्नै श्रममा बाँचिरहेकी छु।”

