-जयराम बिडारी
चैत्र १९, काठमाडौँ
शब्दको सुवास र सिर्जनाको माधुर्यताबीच साहित्यिक पत्रकार सङ्घले आफ्नो गौरवमय यात्राको ५३औँ खुड्किलो टेक्दै ४५औँ कथा दिवस मनाएको छ । चैत्र १९ को स्वर्ण आभासँगै राजधानीमा आयोजित एक भव्य समारोहमा नेपाली साहित्य र पत्रकारिताको मियो बनेर उभिएका पाँच नक्षत्रहरूलाई विविध सम्मान र पुरस्कारद्वारा विभूषित गरियो ।
साहित्यिक पत्रकारिताको उकाली-ओरालीमा अविचलित यात्रा गरिरहेका साधकहरूलाई यस वर्षको विशेष सम्मान अर्पण गरिएको छ । कार्यक्रममा भवानी साहित्यिक पत्रकारिता सम्मानद्वारा शब्दको खेती गर्ने ‘शब्द संयोजन’ मासिकका कार्यकारी सम्पादक रमेश पोखरेल र ‘शृङ्खला’ साहित्यिक मासिकका सम्पादक प्रवीण जोशीलाई प्रदान गरियो ।
लोकप्रिया पुरस्कार: नेपाली साहित्य र नेवारी साहित्यमा एकसाथ कलम चलाउँदै वैशिष्ट्यता प्राप्त गर्नुभएकी सर्जक प्रतिसरा सायमिलाई समर्पण गरियो । यसैगरी नेपाली साहित्य जगतमा सुप्रसिद्ध व्यथित काव्य सम्मानद्वारा शब्द साधक कविद्वय विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ लाई प्रदान गरियो । भने डायस्पोरामा रहेर नेपाली साहित्यको ज्योति बालिरहेका कविद्वय लालगोपाल सुवेदी र दीपा राई पुनलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ घोषणा गरियो, जुन उहाँहरूको नेपाल आगमन पश्चात प्रदान गरिने जनाइएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कलाकार के.के. कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष राधेश्याम लेकालीद्वारा गरिएको थियो ।
सो समारोहमा प्रमुख अतिथि कर्माचार्यले भन्नुभयो: “सम्मान केवल एउटा पदक होइन, यो त स्रष्टाको पसिनाको मूल्य र भविष्यको लागि थपिएको ऊर्जा पनि हो । सही पात्रको चयनले संस्थाको गरिमा र पुरस्कारको ओज दुवै बढाएको बताउँदै पुरस्कृत व्यक्तित्वहरुको आगामी दिनहरु समुज्वल रहोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ समालोचक तथा साहित्यकार प्रमोद प्रधानले पुरस्कृत स्रष्टाहरूको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले चयन प्रक्रियाको पारदर्शिता र औचित्य प्रस्ट्याउनुभएको थियो ।
उक्त अवसरमा ‘शारदा’ मासिकका सम्पादक विमल भौकाजीले लघुकथाको सुन्दर वाचनमार्फत कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सङ्घका कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहलाई कवि एवं कथाकार मणि लोहनीले कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो।
वि.सं. २०२९ सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले २०३८ सालदेखि निरन्तर चैत १९ गतेलाई ‘कथा दिवस’को रूपमा मनाउँदै आएको छ। आधा शताब्दीभन्दा लामो इतिहास बोकेको यस संस्थाले मैनाली कथा पुरस्कारदेखि परशु-चन्द्र सङ्गीत सम्मानसम्मका दर्जनौँ विधामार्फत नेपाली वाङ्मयको श्रीवृद्धिमा सारथिको भूमिका निर्वाह गरिरहेको छ।
आजको यो समारोहले केवल व्यक्तिलाई मात्र होइन, नेपाली भाषा, कला र संस्कृतिको जीवन्त विरासतलाई नै पुनः पुस्तान्तरण र सम्मान गरेको आभास गराएको छ।

