काठमाडौँ । नेपाली साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउँदै आएका साहित्यकार माधव वियोगी लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ। उक्त निर्णय लीलाध्वज थापा साहित्य प्रतिष्ठान ले गरेको हो।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा का अनुसार नेपाली मौलिक सामाजिक उपन्यास विधामा पहिलोपटक मदन पुरस्कार प्राप्त गरेका साहित्यकार लीलाध्वज थापा को नाममा स्थापना गरिएको प्रतिष्ठानले प्रत्येक त्रैमासिक रूपमा यो सम्मान प्रदान गर्दै आएको छ।
कास्की जिल्लाको अर्घौ कालिका–झाँझरमारेमा जन्मिएका वियोगी हाल पोखरा महानगरपालिका–२६ मा बसोबास गर्दै आएका छन्। उनले एम.ए., बी.ए. र बी.एड. सम्मको अध्ययन पूरा गरेका छन्। उनी जनप्रिय बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत हुन्।
साहित्यका विविध विधामा सक्रिय वियोगीले महाकाव्य ८, खण्डकाव्य ८, समालोचना ७, कवितासंग्रह २ लगायत निबन्ध, जीवनी, गजल, गीत, लोककथा तथा छन्दसम्बन्धी कृतिहरू प्रकाशित गरिसकेका छन्। साथै, ‘छन्द बचाउ अभियान’, ‘महाकाव्य लेखन अभियान’ र ‘गृह पुस्तकालय अभियान’ जस्ता अभियानमा समेत उनको सक्रियता उल्लेखनीय रहेको छ।
पत्रकारिता, कानुनी परामर्श तथा शिक्षण पेशामा समेत संलग्न वियोगी तीन दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन्। उनले अन्तर्राष्ट्रिय नेपाल–भारत साहित्यरत्नसहित विभिन्न संघ–संस्थाबाट चार दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।
हाल उनी ‘छन्द विश्वविद्यालय’ स्थापनाका लागि सरकारसमक्ष प्रस्ताव पेश गरी प्रयासरत रहेका छन्।
रु. १० हजार राशिसहितको उक्त सम्मान २०८२ साल चैत २८ गते आयोजना हुने रचना वाचन तथा सम्मान कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

