काठमाडौँ । ‘कर्णाली उत्सवः कुडा कर्नाली’ को सातौँ संस्करण शनिबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। ऋति फाउन्डेसन सुर्खेतले आयोजना गर्दै आएको उत्सव पछिल्ला वर्षहरूमा प्रतिरोधका पाइलादेखि कर्णालीका विविध मुद्दामाथि गहिरो बहस गर्ने मञ्चका रूपमा विकास हुँदै गएको छ।
उत्सव आयोजक समितिको सचिवालय संयोजक कमल लम्सालका अनुसार कर्णालीका समग्र मुद्दाहरू उठाएर यहाँको विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित यो मञ्च सञ्चालन गरिएको हो। उहाँले कर्णालीको भूगोलबाट महिला नेतृत्व, सीमान्त समुदाय, सङ्घर्ष र सफलताका कथासँगै ‘पैकेला’ (नायक)हरूको अनुभव, जेन–जेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको परम्परागत उपचार पद्धति ‘रोवा रिग्पा’, साथै ऊर्जा र प्रविधिको विकासबारे समेत छलफल हुने जानकारी दिनुभयो।
पूर्वमन्त्री तथा उत्सवका परिकल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने साझा विचार मञ्चका रूपमा यो उत्सव संस्थागत हुँदै गएको बताउनुभएको छ। उहाँका अनुसार यस संस्करणले समाजमा व्याप्त निराशा हटाउँदै समतामूलक समृद्धिको बाटो खोल्ने प्रयास गर्नेछ।
आयोजक समितिका सदस्य प्रकाश लामिछानेका अनुसार तीन दिनसम्म चल्ने उत्सवमा १५ वटा विविध विषयका मूल सत्र समावेश गरिएको छ, जसअन्तर्गत १० वटा विशेष सत्र सञ्चालन हुनेछन्। साथै कर्णालीमा जन्मिएर समाजमा उदाहरणीय योगदान दिएका तीन ‘पैकेला’—जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रैथाने सङ्गीतकर्मी) र डा. अखण्ड उपाध्याय (चिकित्सक)—को जीवन सङ्घर्ष र सफलताका कथा प्रस्तुत गरिनेछ।
त्यस्तै कार्यक्रममा अभिनेता राजेश हमालसँग ‘नखिचिएका सिनेमा’ विषयमा संवाद पनि गरिने भएको छ। आयोजकका अनुसार यो उत्सव चैत ३० गतेसम्म चल्ने छ।

