काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख नरहरी घिमिरेका अनुसार गत चैत २४ गते (७ अप्रिल, मंगलबार) उनीहरूलाई चार्टर विमानमार्फत नेपाल फर्काइएको हो र उनीहरू उक्त दिन विमानस्थलमा आइपुगेका थिए।
डिपोर्ट हुनेमध्ये १२ जना अवैध बाटो प्रयोग गरी अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका व्यक्ति रहेको बताइएको छ। बाँकीलाई भने विभिन्न अध्यागमन नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले फिर्ता पठाएको हो।
मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार डिपोर्ट गरिएकामध्ये अन्य व्यक्तिहरूलाई पनि विभिन्न कानुनी तथा भिसा सम्बन्धी नियम उल्लंघनको आधारमा फिर्ता पठाइएको हो।
पछिल्लो दुई महिनामा मात्र अमेरिकाबाट २०० भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्।
पछिल्ला समय अमेरिकाले आप्रवासन नीतिमा कडाइ गर्दै आएको छ। भिसा प्रक्रिया पूरा नगरी गएका, भिसा अवधि सकिएर पनि बसेका तथा नियम उल्लंघन गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरिएको छ। कतिपय अवस्थामा डिपोर्ट गरिएकाहरूलाई हतकडी र नेल लगाएर समेत फर्काइएको समाचारहरू सार्वजनिक भएका छन्।

