काठमाडौं ।
साहित्यकार तथा पूर्व बैंकर स्वयम्भु शाक्यद्वारा लिखित ‘धर : पौका अभियन्ता प्रा.डा. चुन्दा बज्राचार्य’ पुस्तक शनिबार काठमाडौंको सितापाइला स्थित टायम्स इलिमेन्ट्री स्कुलमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ।
नेपालभाषा साहित्य, संस्कृति र बौद्ध दर्शनका वरिष्ठ विद्वान सिद्धहस्त कवि फणिन्द्ररत्न बज्राचार्य प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा ‘धर : पौका’ इतिहासका अभिलेखकर्ता, संस्कृतिविद् तथा इतिहासकार प्रा.डा. चुन्दा बज्राचार्य स्वयं अध्यक्ष रहनु भएको थियो।
पुस्तक लोकार्पण समारोहमा नेपालभाषा साहित्यका वरिष्ठ कवि तथा अनुसन्धाता डा. केशबमान शाक्य, विद्वान व्यक्तित्व शंकरराज भण्डारी, साहित्यकार, भाषाविद् तथा शब्दयात्रा प्रकाशन गृहका अध्यक्ष हरि मञ्जुश्री, साहित्यकार स्वयम्भु शाक्य तथा लेखक–पत्रकार रिसव गौतम अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फणिन्द्ररत्न बज्राचार्यले लेखक स्वयम्भु शाक्यले ऐतिहासिक महत्वको गहन अनुसन्धानात्मक कृति सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। वृद्ध उमेरका कारण स्मरणशक्ति र श्रवण क्षमतामा समस्या आएको उल्लेख गर्दै उहाँले भावुक हुँदै भन्नुभयो—
“नेपाली भाषामा मैले लेखेको पहिलो भूमिका यही पुस्तकका लागि हो, र सम्भवतः यही मेरो अन्तिम भूमिका पनि हुनेछ।”
उहाँले मल्लकालीन राजाहरूको गतिविधि समेटिएको ‘धर : पौका’ सम्बन्धी प्रकाशित तथा अप्रकाशित सामग्रीको संकलन, सम्पादन, अनुवाद र व्याख्या गर्ने पहिलो अभियन्ताका रूपमा प्रा.डा. चुन्दा बज्राचार्यलाई सम्मानपूर्वक स्थापित गरिएकोमा लेखकप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा अतिथि वक्ताहरू डा. केशबमान शाक्य, शंकरराज भण्डारी र हरि मञ्जुश्रीले पुस्तकबारे टिप्पणी गर्दै लेखक स्वयम्भु शाक्यको बौद्धिक क्षमता, अनुसन्धानशीलता र साहित्यिक योगदानको प्रशंसा गर्नुभयो। साहित्य, कला, संस्कृति र पत्रकारितामा सक्रिय वरिष्ठ कवि डा. इन्दुल केसीले पनि कृतिको ऐतिहासिक महत्वमाथि धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै पुस्तकका नायक प्रा.डा. चुन्दा बज्राचार्यले लेखक शाक्यले आफ्नो जीवनकार्यलाई इमानदार ढंगले अभिलेखित गरेकोमा खुशी व्यक्त गर्नुभयो।
“मल्लकालीन राजाहरूका गतिविधि अभिलेख गर्ने ‘धर : पौका’ परम्परालाई खोज, अनुसन्धान र लेखनमार्फत व्यवस्थित रूपमा अघि बढाउने काम मैले पहिलो पटक गरेको हुँ,”
भन्दै उहाँले ‘धर : पौका’ इतिहासको संक्षिप्त विवेचना समेत प्रस्तुत गर्नुभयो।टायम्स स्कुलको प्राङ्गणमा सम्पन्न सो समारोहमा थुप्रै साहित्यप्रेमी, बुद्धिजीवी तथा संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

