काठमाडौं क्षेत्र नं. १ बाट प्रेसर कुकर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कुस्लभ के.सी. परम्परागत दलीय संरचना र नियन्त्रणभन्दा बाहिर उभिएको वैकल्पिक राजनीतिक आवाजका रूपमा चुनावी मैदानमा देखिएका छन्। उनी आफूलाई कुनै दलको एजेन्डा बोक्ने प्रतिनिधि नभई आम नागरिकको दैनिक जीवनसँग गाँसिएका समस्यालाई केन्द्रमा राख्ने स्वतन्त्र प्रतिनिधि भएको दाबी गर्छन्।
के.सी. ले महँगी, सहकारी पीडितको समस्या, बेरोजगारी, अव्यवस्थित शहरी जीवन, आवास संकट र आधारभूत सेवामा देखिएको असमानतालाई आफ्ना मुख्य चुनावी एजेन्डा बनाएका छन्। आम नागरिकले दिनहुँ भोगिरहेको आर्थिक, सामाजिक र मानसिक ‘दबाब’ लाई नै उनले आफ्नो राजनीतिक बहसको केन्द्र बनाएका छन्। “राजनीति भाषण र नाराको होइन, जनजीवनको दबाब घटाउने माध्यम हुनुपर्छ,” भन्ने उनको भनाइ छ।
चुनावी प्रचारको शैलीमा पनि के.सी. परम्परागत दलका उम्मेदवारभन्दा फरक देखिन्छन्। ठूला र पुराना दलहरूले तडक–भडक, महँगो प्रचार सामग्री र शक्ति प्रदर्शनमा जोड दिइरहेका बेला उनी भने सीमित साधनसहित साथीहरू लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। भव्य मञ्च, ठूला साउण्ड सिस्टम र महँगा प्रचार सामग्रीभन्दा प्रत्यक्ष संवाद र व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिएको उनको अभियानले धेरै मतदाताको ध्यान खिच्न थालेको छ।
स्थानीय मतदातासँगको भेटमा के.सी. सुशासन, पारदर्शिता र स्वतन्त्र निर्णय क्षमतामा जोड दिन्छन्। उनले निर्वाचित भएमा कुनै दल वा समूहको दबाबमा नपरी जनहितअनुसार निर्णय गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। उनका अनुसार संसद् जनताको आवाज बुलन्द गर्ने थलो हुनुपर्छ, सौदाबाजी र स्वार्थको अखडा होइन।
काठमाडौं–१ मा लामो समयदेखि दोहोरिँदै आएका अनुहार र दलगत राजनीतिप्रति बढ्दो असन्तुष्टिका बीच कुस्लभ के.सी. लाई धेरै मतदाताले भरोसायोग्य र फरक विकल्पका रूपमा हेर्न थालेका छन्। सीमित स्रोत, सरल जीवनशैली र मुद्दामुखी अभियानका कारण उनी स्वतन्त्र राजनीतिमा सम्भावनाको रूपमा उदाइरहेका छन्।

