-जयराम बिडारी
बैशाख १६,काठमाडौं ।
नेपाली साहित्य आकाशमा कवि, निबन्धकार तथा प्रखर नियात्राकारका रूपमा स्थापित व्यक्तित्व राजाराम बर्तौलाको अङ्ग्रेजी निबन्धहरूको सङ्ग्रह ‘हिमालयन ट्राजेक्टरी’ पाठकमाझ आएको छ । बागबजारस्थित प्राज्ञिक बुक्सको प्राङ्गणमा खुला रुपमा सार्वजनिक गरिएको हो । सो समारोहमा बोल्दै इतिहासकार तथा विश्लेषक सुरेन्द्र केसीले लामो समय नेपालको परराष्ट्र सेवामा रहेर विभिन्न मुलुकहरूको कूटनीतिक अनुभव सँगाल्नुभएका बर्तौलाले यस पुस्तकमार्फत समसामयिक नेपालको अवस्था, भू-राजनीति र भविष्यको मार्गचित्र प्रस्तुत गर्नुभएको बताउनु भएको छ ।
विगत र वर्तमानको सङ्गम
सङ्ग्रहमा लेखकले नेपालको प्राचीन र गौरवशाली इतिहासलाई वर्तमानको ऐनासँग तुलना गर्दै वैचारिक बहस छेड्नुभएको छ ।
पुस्तकले प्राचीन कालखण्डदेखि आधुनिक समयसम्म नेपालले व्यहोरेका उतारचढावलाई सूक्ष्म रूपमा केलाएको छ । विगतको वैभवलाई स्मरण गर्दै वर्तमानका चुनौतीहरूको समाधान खोज्नु र नेपालको हितका लागि अबको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा लेखकले स्पष्ट वैचारिकता प्रस्तुत गर्नुभएको छ ।
उक्त अवसरमा कृतिकार बर्तौलाले त्रिदेशीय सम्बन्ध र भू-राजनीतिक चित्रण
‘हिमालयन ट्राजेक्टरी’ को मुख्य आकर्षण भनेको नेपालको दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धको चिरफार रहेको बताउनु भयो । वहाँले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई केन्द्रमा राख्दै चीन र भारतसँगको त्रिदेशीय सम्बन्धको संवेदनशीलता,नेपालप्रतिको अन्तर्राष्ट्रिय दृष्टिकोण र शक्तिशाली राष्ट्र अमेरिकासँगको सम्बन्ध र त्यसले नेपालको राजनीति तथा अर्थतन्त्रमा पारेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावलाई चित्रण गर्नुभएको छ ।
जनजीवन र कुटनीतिक अनुभवको समिश्रण
परराष्ट्र सेवाको लामो अनुभवले गर्दा बर्तौलाका निबन्धहरूमा कूटनीतिक मर्यादा र यथार्थपरक सूचनाको बाहुल्यता पाइन्छ । उहाँले केवल राजनीतिक प्रतिवेदन जस्तो नभई नेपाली जनजीवनको भोगाइ र नेपालको वस्तुगत सन्दर्भलाई साहित्यिक शैलीमा ढाल्नुभएको छ ।
यो पुस्तक केवल अध्ययनको सामग्री मात्र नभई नेपालको परराष्ट्र नीति र भू-राजनीतिमा चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र बौद्धिक पाठकका लागि एउटा महत्वपूर्ण सन्दर्भ ग्रन्थ हुने विश्वास गरिएको छ । कूटनीतिको मर्म बुझेका स्रष्टाबाट आएको यो कृतिले विश्व मानचित्रमा नेपालको उपस्थितिलाई थप स्पष्ट पार्ने अपेक्षा लिइएको छ ।

