नन्दलाल खरेल
जेन जी – तपाईँहरुलाई अरुले लुट्न नपाओस्
जेन जी,
तपाईँहरूको आँखा भर्खरै खुलेका फूलहरू हुन्,
जहाँ भविष्यको बिहान टल्किन्छ।
तर हावा धुम्म छ,
कसैले तपाईँको बाटो काट्न खोजिरहेको छ।१।
तपाईँहरू सपना देख्दा
अरूले स्वार्थको पञ्जा पसार्छन्,
तपाईँहरू गीत गाउँदा
अरूले चुपचाप लुटको ताल बजाउँछन्।२।

तर याद राख्नुस्—
सपना चोर्ने हात
कहिल्यै आकाश ढाक्न सक्दैनन्।
तपाईँहरूको आवाज,
मुटुको धड्कनजस्तै,
धरतीसम्म गुन्जिन्छ।३।
जेन जी,
तपाईँहरूको आँसु
पानी होइन—
यो नयाँ बिउ रोप्ने वर्षा हो।
तपाईँहरूको आक्रोश
अराजकता होइन—
यो न्याय खोज्ने ज्वाला हो।४।
अरूलाई तपाईँहरूलाई लुट्न नदिनुस्,
आफ्नै सपना आफैं जोगाउनुस्।
किनभने—
देशले तपाईँलाई हेरेको छ,
भविष्य तपाईँको काँधमा टेकेर बसेको छ।५।

