काठमाडौँ, बुधबार । आन्दोलनरत जेनजी समूहले बुधबार दिउँसो भर्चुअल छलफल गरी वार्तामा जाने प्रतिनिधि तथा एजेन्डाबारे आन्तरिक तयारी गरेको बुझिएको छ ।
छलफलमा सुरुमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई वार्ताको नेतृत्व गर्न आग्रह गरिएको भए पनि उनले ठोस जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । त्यसैगरी, समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि आगामी सरकारको नेतृत्वबारे चर्चा गरेको बुझिन्छ । तर कार्कीले स्वीकार गर्ने वा नगर्ने विषयमा स्पष्ट जवाफ नदिएको सहभागीहरूले बताएका छन् ।
यद्यपि, छलफलमा सहभागी अधिकांश व्यक्तिहरूले राजनीतिक पार्टीसँग प्रत्यक्ष रूपमा आबद्ध व्यक्तिलाई आफ्नो प्रतिनिधि वा नेतृत्वमा नराख्नेमा सहमति जनाएका छन् ।
आन्दोलनरत समूहले अब वार्तामा कसलाई प्रतिनिधि बनाउने र कुन एजेन्डा अघि सार्ने भन्ने विषयमा अन्तिम टुंगो लगाउने प्रक्रिया अगाडि बढाएको छ ।

