नन्दलाल खरेल
भोटको मौसम छ,
नोटको खोलो छ,
इमान बन्धक राखेर
नारा चिल्ला बोकेको छ।१।
नयाँ भन्नेहरुको उन्माद छ,
फेसबुकमा क्रान्ति,
सडकमा मौनता,
कुर्सी देखेपछि हराएको सिद्धान्त।२।
चुनाव अगाडि प्रधानमन्त्रीको होडबाजी छ,
देश डुबोस् नडुबोस्,
कुर्सी चाहिँ बच्नै पर्छ,
अहंकारको दौडमा विवेक हार्दैछ।३।
कसैको टिकट बेच्ने पसल बन्द छ रे,
हो, सटर मात्र झरेको हो,
भित्र कालो बजार चलिरहेकै छ,
मूल्यसूची बदलिएको हो।४।
जनता मतदाता होइन,
संख्या बनाइएका वस्तु,
पाँच वर्षको शासन साट्न
एकदिनको नोट बाडे काफी।५।
भोटको मौसम छ,
नोटको खोलो छ,
लोकतन्त्रको शवमाथि
सत्ता नाचिरहेको यो खेलो छ।६।

