काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालनमा आएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम रहेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का लागि सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वरमा कार्यालय स्थापना गरिएको छ। निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका कार्यालय भवनमा रहेको छ। काठमाण्डौ क्षेत्र नम्बर ३ का लागि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालय बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा स्थापना गरिएको छ भने क्षेत्र नम्बर ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवनमा कार्यालय सञ्चालन भएको छ । यस्तै क्षेत्र नम्बर ६ को निर्वाचन कार्यालय तारकेश्वर नगरपालिकाको भवन, धर्मस्थलीमा रहेको छ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौँमा क्षेत्र नम्बर ७ का लागि बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (जुडो हल), खुसीबु–बालाजुमा निर्वाचन कार्यालय रहेको छ। क्षेत्र नम्बर ८ को कार्यालय नागार्जुन नगरपालिकाको नगर भवनमा छ भने क्षेत्र नम्बर ९ को निर्वाचन कार्यालय चन्द्रागिरि नगरपालिकाको भवनमा स्थापना गरिएको छ।
त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ स्थित बाघभैरव भवनमा छ।

